चितवनको प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धन हुने: प्रधानमन्त्री दाहाल
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज मंगलबार उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् ।
उनले भने “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको हो उनले भने, “यो खेल सुरक्षित र साहसी खेल हो ।”
साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ खेलको बिकासमा युवा उद्यमीको पहल भएकोमा प्रधानमन्त्रीले खुसी समेत ब्यक्त गरे । पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।
जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उनले बताए। समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।
यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको अध्यक्ष घलेको भनाइ छ ।नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।