मिटरब्याजीलाई प्रशय नदेउ !

मुलुक गणतन्त्रमा गएको पनि दशकौं भईसक्यो तर अझै देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला सञ्चालनमा छ । अझ अगाडी भन्दा कुनै न कुनै रुपमा तिनैं मिटरब्याजीहरु देशका धेरै जिल्लामा बिभिन्न मुखुण्डो लगाएर आफ्ना अबैध धन्दा निर्बाद सञ्चालन गरिरहेका छन् तर राज्य, प्रशासनयन्त्र मौंन र मुकदर्शक मात्र होईन तिनै मिटरब्याजीका सहयोगीयन्त्र बनिरहेको आजको यथार्थता हो ।
यस्तो अपराधमा राजनितीक दलका नेता तथा कार्यकर्ता, तिनका श्रीमती वा आफन्त वा उनीहरुबाट संरक्षण प्राप्त ब्यक्तिहरु मात्र होईन बरु प्रहरी प्रशासनमा रहेका साना ठूला प्रायः सबै तहका हाकीमका श्रीमतीहरु, नजिकका नातेदार वा निकटस्थ ब्यक्तिहरु, पुर्ब प्रशासक, पुर्बप्रहरीहरु, समाजमा आफुलाई समाजसेवी भन्न रुचाउने जत्थाहरु, आफुलाई बरिष्ठ ब्यक्ति ठान्नेहरु, केही काला धन्धा गर्ने कालाब्यापारीहरु र मिडीयाको कार्ड देखाई समाजमा धाकधम्की दिने नक्कली सञ्चारकर्मी एंव लुच्चाहरु लगाएत बिभिन्न आबरणमा राज्यको साधन, श्रोत र शक्तिको नजिक रहनेहरु नै यस्तो अबैध मिटरब्याजी धन्धामा सम्लग्न हुने गरेको हाम्रो लामो समयको अध्ययनले देखाएको छ ।
यस्तो अबैध धन्दाले आज एकातिर आम सोझा सिधा किसान, मजदुर, साना ब्यबसायी एंव आम सर्बसाधरणहरु चरम मारमा परिरहेका छन् भने अर्कोतिर मुलुकको आर्थिक अवस्था टाटपल्टाई हुनुको एउटा बलियो कारण यहि कालो धन्धा हो भन्ने पुष्टि हुँदै गईरहेको छ । अबैध मिटरब्याजी धन्धाकै कारण देशको अर्थतन्त्र दिनदिनै खोक्रो हुँदै गईरहेको छ । देशमा अबैध मिटरब्याजीकै कारण कयौंले आत्महत्या गर्न बिबस भईरहेको दृष्टान्तहरु पनि बिगतदेखि देखिदै आएको छ । मिटरब्याजीको चंगुलमा फसेर सुन्दर घरबार र भबिश्य उजाडिएका हजारौं नागरिकहरु राजधानी काठमाण्डौं, चितवन, पोखरा देखि पुर्बपश्चिम पहाड र तराईसम्म दिनदिनै बढिरेका छन् तर यस्तो गलत धन्धा रोक्न राजनितिक दल, सरकार र सरकारी निकायहरुको खासै सक्रियता देखिन्न किन ?
सर्बसाधरणहरु बैंक तथा बित्तिय सँस्थाको झन्झटिलो प्रक्रिया र बिबिध कारणले मिटरब्याजीहरुसँग कारेबार गर्न बाध्य हुन्छन् तर उनीहरुलाई आफु दलदलमा फसेको तब थाहा हुन्छ जब उनीहरुलाई तिनै मिटरब्याजीहरुले बाँच्न मुश्किल बनाउछन् । एकातिर जर्जर आर्थिक अवस्था र बेरोजगारीको भयाभव अवस्था र त्यस्ले सिर्जीत परिस्थीतीको कारण मानिसहरु जानी जानी आफै अबैध ढुकुटी र मिटरब्याजीहरुको फन्दामा समेत फस्न बाध्य छन् । उनीहरुलाई त्यो चर्को र चक्रिय ब्याजले आफुलाई एकदिन खान्छ भन्ने थाहा हुँदाहुँदै पनि देशमा चलिरहेको कुशासन, तत्कालीन आफ्ना आर्थिक समस्या हल गर्ने अन्य बिकल्प नदेख्नु र छिट्टै पैसा कमाउने लालचले गर्दा समेत मानिसहरु मिटरब्याज जस्तो गडुवा दलदलमा भासिन बिबस छन् भने अर्कोतिर मुलुक दिनदिनै यस्तै यस्तै कारण खोक्रो बन्दै गईरहेको छ ।
मिटरब्याजीहरुले पहिल्यै ब्ल्यांक चेक लिई सयकडा मासिक रु २० देखि रु ३० सम्म लिने गरेको हाम्रो अध्ययनले देखाएको छ । उनीहरुले आफु जोगीन मिटरब्याजी हो भन्ने कुनै प्रमाण नछाड्ने कारण पिडीतहरु कँहिकतै हारगुहार वा उजुरी गर्न समेत नसक्ने अवस्थामा हुन्छन् । बरु उल्टै मिटरब्याजीहरुले चेक बाउन्सको मुध्धामा धेरै सर्बसाधरणलाई प्रहरीको धाकधम्की दिने, आफ्नो तथा आफन्तको पद तथा शक्तिको दुरुपयोग गरी प्रशासन एंव प्रहरी चौंकीमा बोलाई दबाब सिर्जना गर्ने साथै कतिपय भ्रष्ट प्रहरीहरुसँगको सेटिङ्गमा अनाहकमा हिरासतमा लिने र अदालतमा समेत मुधा दर्ता गराई तारिख लगाईरहेको हाम्रो अध्ययनले देखाएको छ ।
सर्लाही, सिराहा, महोत्तरी लगाएतका स्थानका मिटरब्याजपिडीत आम सर्बसाधरणहरु घटौं हिडेर राजधानी काठमाण्डौं पुग्दा समेत त्यस क्षेत्रका जनप्रतिनिधीहरुको तै चुप मै चुप शैलीले यस्तो अबैध धन्धालाई उनीहरुको नजाँदिदो मौन सर्मथन देखिन्छ । चितवनकै नारायणगढ, भरतपुर, टाँडी, पर्सा, नवलपुरको गैंडाकोट, कावासोती लगाएतका स्थानमा मिटरब्याजको डरलाग्दो धन्दा चलिरहेपनि अक्सर प्रायः राजनितिक दल, राज्यका प्रशासनयन्त्र, प्रहरी देखि अर्ध न्यायिक भुमिका निभाउन सक्ने स्थानिय निकायहरु समेत यस बिषयमा मौन बसिरहेका छन् ।
छोराछोरी बिग्रिएमा आमा बाबु दोषि भने जस्तै समाजमा यस्ता बिकृतीहरु हावी भईरहँदा मुकर्दशक बस्ने राजनितीक दलहरु, प्रशासन सयंन्त्र, प्रहरी र स्थानिय सरकार यो दोषबाट मुक्त हुनै सक्दैनन् । अब देशभर यस्ता जनतामारा सुदखोर मिटरब्याजी डाँकुहरुलाई कार्बाही गर्ने अभियान शुरु गर्न आमसर्बसाधरण सबै खालका जंजीरहरु तोडेर सडकमा आउन सक्नुपर्दछ । अरुले गर्देला र खाउला भन्ने सोंचाईले कहिल्यै न्याय मिल्नेवाला छैंन् । पिडीतहरु खुल्दै अगाडी बढ्न सक्नुपर्दछ ।

अहिले सरकार, नेकपा लगाएतका केही जनपक्षिय राजनितीक दलहरु र ब्यबसायी दुर्गा प्रसाईको समूहले मिटरब्याजी बिरुद्ध जनचेतनाको अभियान सञ्चालन गरिरहेका छन् यो राम्रो पक्ष हो यधपी यो सामान्य अभियानले मात्र मिटरब्याजीहरुलाई ठेगान लगाउन सकिदैन् । आम जनसमूदायको ब्यापक जनदबाब र आन्दोलनले मात्र उनीहरु तह लाग्ने अवस्था आउनेछ । कानुन बनाएर, कानुनले नछुने अवस्थामा सामाजिक बहिस्कार गरेर भएपनि मिटरब्याजी धन्धालाई निरुत्साहित गर्दै लैजानु समाजका प्रत्येक सचेत नागरिकको दायीत्व हो ।
अबैध रुपमा हुने यस्ता मिटरब्याजी कारोबार रोक्न सरकार कडाईपुर्बक लाग्नुपर्छ । सामाजीक अभियान्ता र राजनितीक दलहरुले जनचेतना अभिबृद्धि गर्न लाग्नुपर्दछ । प्रहरी र अदालतले ब्यबसायीक कारोबारका चेक भन्दा बाहिरको चेकका धन्धामा अंकुश लगाउदै जानुपर्दछ । अबैध मिटरब्याजी धन्दा रोक्न यस कार्यमा सम्लग्नहरुलाई एक एक गरी पक्राउ गर्दै कार्बाही गर्नुपर्दछ ।
यर्सथ, हामी यस्ता बेथिती र जनतामारा अपराध रोक्न कुनै न कुनै माध्यमबाट निरन्तर खबरदारी गरिरहनेछौं । अतः जिल्लामा भईरहेका अबैध मिटरब्याज, ढुकुटी, हुण्डी, जुवाखाल, तस्करी, चोरी, पैठारी र बिबिध अबैध कारोबारहरु रोक्न प्रहरी प्रशासनको सम्पूर्ण ताकत लगाउन हामी जनताको तर्फबाट जोडदार अपिल गर्दै निरन्तर खबरदारी गर्ने उदघोष गर्दछौं । भण्डाफोर अभियान साप्ताहिकको सम्पादकीयबाट