वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो । उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी गरेको खुलेको छ ।
उक्त संस्थाका सञ्चालक झन्डै एक हजार युवाको राहदानीसहित प्रतिव्यक्ति न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम पाँच लाख रुपियाँसम्म लिएर १५ दिनदेखि बेपत्ता भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा पीडितले गरेका उजुरीका आधारमा वनस्थलीमा रहेको उक्त संस्थाको विभागको आकस्मिक टोलीले अनुगमन गर्दा ‘होल्ड’ गरेका ९८० वटा राहदानी फेला पारी नियन्त्रणमा लिएको छ ।
संस्थाका सञ्चालक काठमाडौँ गोकर्णेश्वर–६ बस्ने ४४ वर्षीय लालबहादुर लामा र कम्पनीमा सीईओ रोशन न्यौपानेले एक हजार युवासँग लाखौँ रुपियाँ ठगी गरेर १५ दिनदेखि फरार रहेको पीडितले विभागमा दिएको उजुरीमा उल्लेख छ ।
विभागका अनुसार उक्त संस्थाको अनुगमन गरी सञ्चालन भएको घरलाई सिल गरेको छ । विभागको टोलीले उक्त संस्थामाथि गरेको अनुगमनको क्रममा चारवटा झोला र स्कुटरको डिकीमा राखिएको अवस्थामा राहदानी फेला परेका थिए । उक्त कम्पनीमा युवाले प्रतिव्यक्ति एक लाखदेखि पाँच लाखसम्म अग्रिम बुझाएको पाइएको छ ।
विभागले थाल्यो अनुसन्धान
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले उक्त संस्थामाथि अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । विभागका अनुसन्धान अधिकृतको नेतृत्वमा समिति गठन गरेर आइतबारदेखि नै उक्त संस्थाको अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।
उहाँका अनसार संस्थाका सञ्चालक लामा र सीईओ न्यौपाने फरार रहेकाले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । फरार लामा र न्यौपानेलाई नेपाल प्रहरी अनुसन्धान केन्द्र ९सीआईबी०ले खोजी जारी राखेको जनाइएको छ । ठगीको प्रकृतिका आधारमा मुद्दा चलाइने पनि विभागका महानिर्देशक आचार्यले जानकारी दिनुभयो । गोरखापत्रबाट ।