बिरामी जाँच्दै भोट माग्दै डा.भोजराज अधिकारी

चितवन/आगामी मंसिर ४ को निर्वाचन नजिकीएसँगै चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा.भोजराज अधिकारी घरदैलोमा मत मागिरहेका छन् ।

उनले घरदैलोका क्रममा सोधेको अहिले थाईराईड ठिक छ ? भन्ने अभिव्यक्ति चर्चामा थियो । सँगसँगै डा.भोजराजले घरदैलोका क्रममा जनतालाई के छ स्वास्थ ठिक छ ? भनेर सोध्ने गरेका छन् । घरदैलोका क्रममा उनले विरामीको स्वास्थ्य परिक्षण समेत गरेका छन् । जब उनी घरको आँगनसम्म पुग्छन्, तब रिपोर्ट समेत लिएर परिवार समेत उपस्थित हुन्छन् । डाक्टरले रिपोर्ट हेर्दै केही सल्लाह पनि दिन्छन् । केही समस्या भए तत्काल सम्पर्क गर्न भन्छन् ।

माडी हनुमानझुलाका श्याम खड्का रूखबाट खसेर ढाडमा भाँचिएको थियो । डा.भोजराज नजिकै गए, अनि श्यामले समस्या बताउन थाले । सबै सुनिसकेपछि डा. भोजराजले भने,विस्तारै सहज बनाउनुपर्छ, पिर कत्ति पनि नलिनु होला, राम्रोसँग उपचार गर्न पहल गर्छु । त्यसपछि एकजना स्थानीय ४५/५० वर्षिय महिलासँग भेट भयो । उनलाई थाईराईड र प्रेसर रहेछ । सबै रिपोर्ट हेरेपछि डाक्टरले भने, धन्दा नमान्नुस्, चुनाव पछि पनि म आउछु, खानेकुरामा अलि ख्याल गर्नुपर्ने भयो है ।

यसरी नै लगभग एउटा कोणसभा स्थलमा ४/५ जना विरामी हेर्छन् । उनले घरदैलोमा हिड्न थालेपछि धेरै पटक भन्ने गरेका छन्,देश विरामी भयो, राजनीतिको उपचार गर्छु,डा.भोजराजले थपे, मलाई भेट्न अस्पतालमा लाइन बस्नुपर्थ्यो, अहिले यहाँको घरमा म नै आईपुगें । माडीका विभिन्न स्थानमा पुगेका उनले देशकै उपचारमा केन्द्रीत हुने बताएका छन् ।