भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु
कैलाली/पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।
एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए । २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।