पछिल्लो सात दिनमा निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि
काठमाडौं । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको छ । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको नेपाल बैंकर्स संघले जनाएको छ ।
११ कात्तिकमा ४५ खर्ब २४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १८ कात्तिकमा बढेर ४५ खर्ब ४५ अर्ब पुगेको बैंकर्स संघले जनाएको छ । असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब रहेको निक्षेप ११ कात्तिकमा ४५ खर्ब २४ अर्बमा झरेको थियो । तिहार तथा छठ बैंकबाट बढी नगद बाहिरिंदा घटेको निक्षेप चाडपर्व सकिएसँगै क्रमिक रुपमा बढ्दै गएको छ ।
निक्षेप बढेपनि कर्जा लगानी भने स्थिर छ । जसले गर्दा ११ कात्तिकमा साढे ८७ प्रतिशत नाघेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पुनः घटेको छ । असोज मसान्तमा ४२ खर्ब २० अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा ११ कात्तिकमा ४२ खर्ब २५ अर्ब थियो । १८ कात्तिकमा १ अर्बले घटेर ४२ खर्ब २४ अर्बमा झरेको बैंकर्स संघले जनाएको छ । जसले गर्दा ११ कात्तिकमा ८७.५८ प्रतिशत पुगेको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो १८ कात्तिकमा ८७.२१ प्रतिशतमा झरेको बैंकर्स संघले जनाएको छ ।