विश्वव्यापी भोकमरीको सूचीमा नेपालको स्थिति सुधार

काठमाडौँ/विश्वव्यापी भोकमरीको सूचीमा नेपालको स्थिति सुधार भएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो ।

२०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । छिमेकी भारतमा भने भोकमरीको अवस्था भयावह रहेको प्रतिवेदनले उजागर गरेको छ । १२२ देश समावेश सूचीमा भारत १०७ औं स्थानमा छ । भारतको अवस्था छिमेकी श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानभन्दा खस्किएको छ । सूचीअनुसार दक्षिण एसियामा अफगानिस्तान मात्र भारतभन्दा पछाडि १०९ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमा श्रीलंका ६४ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा छन् ।

बुरुन्डी, सोमालिया, दक्षिणी सुडान र सिरिया कुल ४९.९ अंकसहित सूचीको पुछार (१२२ औं स्थान) मा छन् । भारतले कुल २९.१ अंक प्राप्त गरेको र यसले ‘गम्भीर’ अवस्था रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे, चिलीलगायतका १७ वटा देशको अंक ५ भन्दा पनि कम छ ।

सन् २०२१ मा ११६ देशको सूचीमा भारत ९४ औं स्थानमा थियो । उच्च भोकमरी रहेको भारतका बच्चाहरूमा ‘कुपोषणको अवस्था पनि गम्भीर’ रहेको जनाइएको छ । ‘भारतमा बच्चाहरूमा कुपोषणको दर १९.३ छ । यो विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी हो,’ प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर ८२ करोड ८० लाख मानिस कुपोषणको सिकार भएकामा त्यसमध्ये २२ करोड ४० लाख भारतीय रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै नरेन्द्र मोदी सरकारका मन्त्रीहरूले आपत्ति जनाएका छन् । भारत सरकारले प्रतिवेदनप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको छ । प्रतिवेदन त्रुटिपूर्ण रहेको र भोकमरीबारेको अवस्था सार्वजनिक गर्ने तरिका गलत रहेको भारत सरकारको आरोप छ ।

भारत सरकारले भोकमरी मापनको गलत तरिका भएको आरोप लगाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । त्यसका साथै मापनका चारमध्ये तीन वटा तरिका बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित रहेको र त्यसले पूरा जनसंख्याको प्रतिनिधित्व नगरेको भारत सरकारको दाबी छ । भारतजस्तो देशको कुपोषणको अवस्था यस्तो विधिबाट पत्ता लगाउनु गलत मात्रै नभई अनैतिक भएको भारतको महिला तथा बाल विकास मन्त्रालयले दाबी गरेको छ । त्यसका साथै प्रतिवेदन स्पष्ट रूपमा पूर्वाग्रही भएको मन्त्रालयको दाबी छ ।

‘विश्वव्यापी भोकमरी सूचकांकको तथ्यांक गलत हो, पुनः एक पटक भारतको छवि लगातार खराब गर्ने कोसिस भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा छ । सन् २०२२ को भोकमरी सूचकांक आयरल्यान्डको गैरसरकारी संस्था कन्सर्न वर्ल्डवाइड र जर्मनीको गैरसरकारी संस्था वेल्ट हंगर हिल्फले सार्वजनिक गरेका हुन् । मन्त्रालयले विश्वव्यापी भोकमरी सूचकांक जारी गर्ने संस्थाहरूले प्रतिवेदन सार्वजनिक गर्नुअघि उचित मिहिनेत नगरेको पनि आरोप लगाएको छ । ‘यो प्रतिवेदन केवल धरातलीय यथार्थभन्दा टाढा मात्रै छैन, जानाजान ती प्रयासको नजरअन्दाज गरिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक भएसँगै केही अधिकारकर्मी तथा राजनीतिज्ञले भने सरकारको कडा आलोचना गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी र कंग्रेस नेता पी. चिदम्बरमले मोदी सरकार असफल भएको बताएका छन् । भारतमा गएको साढे आठ वर्षमा अन्धकारको युग ल्याएकामा सरकारले जिम्मेवारी लिनुपर्ने यचुरीको भनाइ छ ।

‘२२ करोड ४० लाख जनता कुपोषणको सिकार भएका छन्, सम्माननीय प्रधानमन्त्रीले कुपोषण, भोकमरीलगायतका समस्यालाई कहिले सम्बोधन गर्नु हुन्छ ?’ कंग्रेस नेता चिदम्बरमले प्रश्न गरेका छन् ।