बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन
काठमाण्डौं/बागी उम्मेदवारी दिने नेताहरुलाई सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।
विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुलाई समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन भनिएको छ ।
त्यसका लागि सम्बन्धित पार्टी निकायहरुले यसबारेको निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्ने पनि गठबन्धनले निर्णय गरेको छ। आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धी पार्टीहरुले निष्काशन गर्ने विज्ञप्तिमा भनिएको छ ।