चितवन ३ मा बागी उम्मेदवारी दिएका कांग्रेसका केन्द्रिय सदस्य कोइरालालाई उमेदवारी फिर्ता लिन आग्रह

चितवन/चितवन ३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उम्मेदवारी दिएका कोइरालासँग जिल्ला सभापति राजेश्वर खनाललगायतले सोमबार भेटघाट गरी बागी उमेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

चितवन ३ माओवादी केन्द्रलाई परेको छ भने चितवन १ र २ कांग्रेसको भागमा परेको छ । भेटघाटका क्रममा कोइरालाले आफ्नो उमेदवारी फिर्ता लिनका लागि नभएको बताएको एक नेताले जानकारी दिए । कोइरालालाई उम्मेदवारी फिर्ता लिएर गठबन्धनको पक्षमा खुल्न आग्रह गर्न जिल्ला सभापति खनालसहित उपसभापतिद्वय राजीब न्यौपाने र शालिग्राम शर्मा, सचिब ध्रुबराज पोख्रेल, सहसचिब गोपाल दराई र प्रवक्ता अनमोल अधिकारी निवास पुगेका थिए ।