चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ
चितवन/प्रहरीले चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।