भरतपुरमा ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन
चितवन/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ को अयोजनामा आज ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरिएको छ । सोहि कार्यक्रममा बाल्दै महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा-आमा भएको बताउनु भएको छ । कार्यक्रममा उहाँले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा-आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गर्नुभयो । नेपालमा पनि बुवा-आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्, मेयर दाहालले भन्नुभयो । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताउनुभयो । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उहाँको भनाई थियो ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गर्नुभयो ।
जेष्ठ नागरिकका लागि एक वडा एक विश्रामस्थल, जेष्ठ नागरिकका सिप र अनुभवलाई ग्रहण गर्न पुस्तान्तरण कार्यक्रम, असल छोरा बुहारीलाई सम्मान कार्यक्रम, वडाका जेष्ठ नागरिकलाई सम्मान तथा तिर्थयात्रा गर्न बजेट विनियोजन गर्ने गरेको मेयर दाहालले जानकरी दिनुभयो ।