मिस नेपाल प्रियंकारानीले इच्छाकामनाको मेतराङमा बिजुली र खानेपानी उपलब्ध गराइदिने

काठमाडौं/चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँ मेतराङमा मिस नेपाल प्रियंकारानी जोशीले बिजुली र खानेपानी उपलब्ध गराइदिने भएकी छिन् ।

विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को लागि प्रियंकाले परियोजना अघि बढाएकी हुन् । गतसाता गाउँ पुगेर काठमाडौं फर्किएकी उनले खानेपानीको लागि पम्प निर्माण पनि थालेकी छन् ।

त्यहाँको कूल ५८ घरमा बिजुली जडान गर्ने योजना छ । गाउँमा चेपाङको बसोबास भएकाले स्थानीय महिलालाई बिजुली बत्तीको बिल तिर्न र घरखर्च जोहो गर्न मौरीपालन र टपरी बुन्नेजस्ता उद्यमशिलता पनि उनले व्यवस्था गरिदिने छिन् ।

ती उत्पादनलाई मलेखुसहित नजिकको गाउँमा पुर्‍याउने व्यवस्था पनि हुनेछ । बिक्रीबापत महिलाहरुले बजारबाट मासिक पैसा पनि पाउनेछन् ।
परियोजनालाई सफल तुल्याउन उनले नीति निर्माण तहमा समेत छलफल चलाएकी छन् ।
२७८ जनसंख्या रहेको गाउँका पुरुषहरु दशैंतिहार जस्ता चाडपर्वमा मात्र गाउँ फर्कने र अघिपछि कमाउन काठमाडौं, पोखरा र भारत पुग्ने गर्छन् ।

‘गाउँमा महिला, बच्चा र वृद्धवृद्धाहरु हुनुहुन्छ । पुरुषहरु काम गर्न वर्षमा बाहिर जाने र दशैंतिहारमा फर्कने गर्नुहुँदो रहेछ’ प्रियंकाले भनिन् ।