आज देशका धेरैसजो ठाउँमा पानी

काठमाण्डौं/देशका धेरैसजो ठाउँमा अहिले पानी परिरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको छ ।

आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको छ ।