बाबुराम भट्टराई गोरखा २ बाटै उम्मेदवार बन्ने
गोरखा /आउँदो प्रतिनिधि सभा चुनावमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । शनिवार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो ।
गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको भट्टराईको भनाइ छ । गठबन्धन दलमात्रै नभइ गोरखा–२ मा आफू सबै पार्टीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो । आउँदो चुनावमा विजयी भएमा गोरखालाई विकासको मोडलको रूपमा अघि बढाउने पनि आफ्नो चाहना रहेको भट्टराइको भनाइ छ ।
नेपाल समाजवादी पार्टी गोरखाले पनि भट्टराईलाई यो क्षेत्रबाट सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गर्ने तयारी गरेको छ । सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवार बन्न चाहनेहरूको नाम शनिवार सङ्कलन गरेको थियो । जसमा निर्वाचन क्षेत्र नम्बर २ बाट भट्टराईको मात्रै दाबी परेको छ ।