मेघौली विमानस्थल स्तरोन्नती गरिने
चितवन/चितवनको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ ।
त्यसका लागि टोपोग्राफी सर्भेको सुरुवात भएको छ । आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं सोही क्षेत्रका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरेका हुन् । सो क्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान संचालनमा आउने बताए ।
सर्भे रिपोर्ट आएपछि नागरिक उड्ययन प्राधिकरणले छिट्टै टेण्डरको प्रक्रिया अघि बढाईने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘स्तरोन्नतीको प्रक्रिया सुरु भइसकेको छ । फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पुरा गरेर टेण्डर निकाल्छौं, यो विमानस्थल अब पुनः चल्छ’–महानिर्देशक अधिकारीले भने ।
हाल यस विमानस्थलको लम्बाइ एक हजार मिटर छ । नजिकै २०० मिटर क्षेत्रमा सुकुम्वासीले बसोबास गरेका छन् । यस विमानस्थल भने कुल २३ बिघा क्षेत्रमा फैलिएको छ । अहिले धावनमार्ग घाँसेमैदान रहेको छ । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसपश्चात एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराईएको थियो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस विमानस्थल स्तरोन्नती गर्नका लागि महानगर लागि परेको जानकारी दिइन् । उनले यस विमानस्थल संचालनमा आएलगत्तै यस क्षेत्रको विकास हुने भन्दै यो प्रक्रियालाई छिट्टै अघि बढाउन आग्रह गरिन् ।