चितवनमा यो वर्ष डेँगु संक्रमण बढ्ने सम्भावना
चितवन/गत वर्ष भन्दा यो वर्ष चितवनमा डेँगु संक्रमण बढ्ने सम्भावना देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार गत वर्ष ३०३ जनामा डेँगु संक्रमण देखिएकोमा अहिले यो आर्थिक वर्षको पहिलो महिनामा नै ७६ जना संक्रमित भएपछि गत वर्षभन्दा बढ्न सक्ने प्रारम्भिक संकेत देखिएको हो ।
स्वास्थ्य कार्यालयले भदौं महिनाको तथ्यांक भने संकलन गर्दै छ । डेँगु प्रकोप बढ्ने मौसम नै भएकोले भदौं महिनामा संक्रमण अझ बढ्ने स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले नारायणी अनलाइनलाई बताए । उनले गत वर्ष पाँच हजार ४५५ जनामा गरिएको परीक्षणमा ३०३ जनालाई संक्रमण देखिएकोमा यो वर्ष साउन महिनामा मात्र ९८९ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको छ । चितवनमा भेटिएका संक्रमितहरु कतिपय नवलपरासी र मकवानपुरका पनि रहेको उनले जानकारी दिए । उनले भने, ‘सवारीसाधनको आवतजावत र शहरीकरण बढ्दै गएसँगै पछिल्लो समय डेँगुको प्रकोप पहाडी क्षेत्रमा पनि फैलँदै गएको छ ।’ चितवनमा सबैभन्दा धेरै संक्रमित खैरहनी नगरपालिकाका रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष गएको जुनयता तीन हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म ६८ जिल्लामा संक्रमण फैलिइसकेको छ ।