राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकबारे आज संसदलाई जानकारी गराइँदै

काठमाण्डौं/राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने उल्लेख छ ।

साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।