बञ्चरेडाँडामा बाक्लो संख्यामा प्रहरी परिचालन

काठमाडौं/फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका स्थानीय वासिन्दाले बताएका छन् ।

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको बताए ।

नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएका छन् । धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरु सडकमै तेस्र्याएर राखेका छन् । त्यो खोल्नुपर्ने छ, त्यसकैको लागि प्रहरी परिचालित भएका हुन् ।’

पाण्डेले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी र अन्य उपकरण तोडफोड गर्नेहरुलाई खोजी गरिरहेको बताएका छन् ।