चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने
चितवन/चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो ।
चितवन जिल्ला भित्री मधेसमा पर्ने भएकोले चुरे तथा भित्री मधेश प्रदेशमा रुख भएको वन क्षेत्र प्रयोग गरेवातपत ४२ लाख रुपैयाँ, झाडी तथा बुट्यान क्षेत्रको ३५ लाख रुपैयाँ र पहाडी तथा हिमाली क्षेत्रको रुख भएको जग्गाको ३० लाख रुपैयाँ र झाडी बुटुयान तथा खाली क्षेत्र प्रयोग गरेमा प्रति हेक्टर २८ लाख रुपैयाँ तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले नयाँ नियमावलीले काठको ग्रेडिङमा हेरफेर गर्दै वनपैदावार र गोलियाको मूल्यमा केही परिवर्तन ल्याएको बताए । नियमावलीअनुसार सालको काठ ‘ए’ लाई १००० रुपैयाँ प्रतिघनमिटर, ‘बी’ ७०० प्रतिघनमिटर, सी ५०० रुपैयाँ प्रतिघनमिटर र डी २५० रुपैयाँ तोकेको छ । त्यसैगरी जंगली सिसौं प्रतिघनमिटर ‘ए’ लाई १००० रुपैयाँ, बी लाई ८०० रुपैयाँ, सी ५०० रुपैयाँ र डीलाई ३०० रुपैयाँ मूल्य तोकिएको छ ।
पुरानो नियामवलीमा वन क्षेत्र प्रयोग गरेको रकम सरकारलाई तिर्नुपर्ने व्यवस्था थिएन । तर, अहिलेको नयाँ नियामवलीअनुसार प्रयोग गरेको वन क्षेत्रको वार्षिक रुपमा रकम बुझाउनुपर्ने वन तथा भू–संरक्षण विभागले जनाएको छ ।