हेटौंडा क्याम्पसमा तोडफोड
हेटौंडा/छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।
स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।
हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको भनेपछि बुधबार विद्यार्थीले तोडफोड गरेका हुन् । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
यसैबीच तोडफोड भएपछि बुधबार हेटौंडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा रोकिएको छ । बिहीबारदेखिका परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार नै हुने हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज पराजुलीले जानकारी दिएका छन् ।