पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि चल्न थाल्यो गाडी
तनहुँ/पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएकोमा हिजोबाट भने राति पनि गाडी चल्न थालेका छन् ।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । सडक भासिएको छेउपट्टि मर्मत नहुँदासम्म यो खण्डमा एकतर्फी मात्रै गाडी चल्ने छन् ।