सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकोप्टर खराब मौसमका कारण जोमसोम फर्कियो
पोखरा/सम्पर्कविहीन ताराको जहाजको खोजिमा गएको हेलिकोप्टर खराब मौसमको कारण जोमसोम विमानस्थलमा फर्किएको छ ।
पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो ।सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिए । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी ट्विनअटर देखिए नदेखिएकोबारे बुझ्न थालिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।