धादिङको गजुरी गाउँपालिका–८ मा पुनः मतदान गर्न एमाले र नेकपा एकीकृत समाजवादीको माग
धादिङ /धादिङको गजुरी गाउँपालिका–८ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पुनः मतदानको माग गरेको छ । समय छदाँ–छदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा पुनः मतदानको माग गरेका हुन् ।
पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टा–छुट्टै निवेदन दर्ता गराएका छन् ।
गजुरीका निर्वाचन अधिकृत चक्रपाणी शर्माका अनुसार राति १२ बजे बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार त्यसबारे निर्वाचन आयोगमा लेखी पठाइएको हो ।
मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाता फोटो सहितको मतदाता परिचय बनाउँदा निर्वाचन आयोगले दिएको अर्धकट्टी लिएर गएको मतदातालाई मतदान गर्न नदिएपछि विवाद उत्पन्न भएको थियो ।
विवादपछि झन्डै १०० भन्दा बढी मतदाताहरु लाइनमा बसेको भएपनि मतदान गर्न नदिई निर्वाचन सम्पन्न गरिएको थियो ।
तीन वटा मतदान स्थल रहेको यस केन्द्रमा दुई हजार ४७७ मतदाता छन् । शुक्रबार एक हजार छ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको थियो ।