आज राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाण्डौ/स्थानिय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो ।

मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।

दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन् ।

सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर गर्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ ।

निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने उल्लेख छ ।