चितवनका मतदान स्थलमा भोलिदेखि सुरक्षाकर्मी र कर्मचारी

चितवन/भोलि मंगलबारदेखि चितवनका मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीसहित भोलि बिहानदेखि नै मतदान केन्द्रमा कर्मचारी खटिने भएको हो ।
‘मतदान अधिकृतहरुलाई हामीले तालिम प्रदान गरिसक्यौँ । भोलि साढे ६ बजेदेखि मतदानका लागि आवश्यक पर्ने सामाग्री बुझेर मतदान केन्द्रमा खटिनुहुन्छ’, उनले भने, ‘दिउँसोसम्म उहाँहरु मतदान केन्द्रमा खटिसक्नुहुन्छ ।’ जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई हस्तान्तरण गर्ने उनले बताए ।

चितवनमा जिल्लामा ४५१ वटा मतदान केन्द्र छन् । मतदान अधिकृत र सहायक अधिकृतहरूलाई सामग्री बुझाउने उनले बताए । मतदाता सख्याको आधारमा कर्मचारीको संख्या बाडफाड गरिएको छ । १६१ मतदानस्थल रहेको चितवनमा स्वयसेवक सहित ३ हजार ६ सय ८ जना कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयमसेवक खटिएका छन् । त्यस्तै मतदान अधिकृत, साहायक मतदान अधिकृत, दुई जना साहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरि पाँच जना खटिन्छन् । तर, एउटा मतदान स्थलमा कति सुरक्षाकर्मी खटिन्छन् भन्ने विषयमा चितवन प्रहरीले सार्वजनिक गरेको छैन । जिल्लामा म्यादी प्रहरीको संख्या १ हजार ६५१ जना रहेको छ । जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । ‘सुरक्षाका हिसाबले हाम्रो जनशक्तिको बिषयमा सार्वजनिक गर्न मिल्दैन’, उनले भने ‘हामीले आवश्यकता अनुसार सुरक्षाकर्मी खटिनेछन् ।’

एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा नेपाली सेना, शशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरी खटिनेछन् । सेनाले बाहिरी भूभागको निगरानी गर्नेछ । मतदान स्थलबाहिर शशस्त्र प्रहरी र मतदान केन्द्रको सुरक्षा प्रहरी र म्यादी प्रहरीले गर्ने अधिकारीले जानकारी दिए । मंगलबारदेखि नै मतदान केन्द्रको निर्माणदेखि सुरक्षाका लागि प्रहरी खटिने उनले बताए । सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भैरहेको उनले बताए ।