अवैध हतियारसहित दुई जना पक्राउ

बारा/प्रहरीले अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय जनालाई पक्राउ गरेको छ । मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार बाराको सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले भारत विहार मोतिहारी जिल्ला घोडासहन थाना क्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ वर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंहलाइ हतियारसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआइजी मगरले जानकारी दिए ।

बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बिआर१सि १३१६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा शनिबार बिहान १० बजे सिमौनगढ–कचोर्वा सडकखण्डमा रोकेर चेकजाँच गर्दा उनीहरूले कमर मुनी लुकाएर राखेको अवस्थामा उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
मोटरसाइकल र हतियारसहित दुवैजना लाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।