भरतपुरको मेयरमा रेणु दाहाललाई जिताएमा गठबन्धन बलियो हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयरमा रेणु दाहाललाई जिताएमा गठबन्धन बलियो हुने बताएका छन्।
पाँच दलीय गठबन्धनले आज बिहीबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय चुनावमा रेणुलाई भोट दिएर जिताउनुस्, जिताएको खण्डमा गठबन्धन बलियो हुन्छ,” प्रधानमन्त्री देउवाले भने। “गठवन्धनको विरोध गर्ने काम नगर्नुस्, पार्टीको हित गठवन्धनमै छ प्रधानमन्त्रीले भने।
कुनै पार्टीले पनि एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको भनाइ थियो। त्यससँगै देश विकासका लागि पनि गठबन्धन आवश्यक भएको उनले बताए।
देउवाले भने, “पार्टी गठबन्धनबारे स्पष्ट छ। यो टीम हाम्रै साथीहरूले बनाएका हुन्। चितवन कांग्रेस कार्यकर्ताको कर्तव्य नै रेणु दाहाललाई सहयोग गर्नुपर्छ।”
भरतपुरबाट गठबन्धन टुटाउने षड्यन्त्र हुन सक्ने देउवाको आशङ्का थियो। “कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरबाट पूरा हुन सक्दैन,” उनले भने।
जनताको समर्थनमा भरतपुरमा काम गर्ने गठबन्धनका उम्मेदवार नै विजयी हुने उनले दाबी गरे।