देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डौ/आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।
हिजो सोमवार देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।