ईद उल फित्र मनाइँदै

काठमाण्डौ/आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।
अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन गएको बिहीवार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।