आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस

काठमाण्डौ/राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस आज गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ ।

सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रुपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ ।

यस्तै, सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको पनि उहाँले बताउनु भएको छ ।