Breaking News

भरतपुरका बागी जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित

चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्।

स्थानीय तह निर्वाचनका लागि उनले गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्। नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रह अटेर गर्दै उम्मेदवारी फिर्ता नलिने अडान राखेका थिए।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार बेलुकी ५ बजेभित्र विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन हुने चेतावनी दिएको थियो।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ ९१३० (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेसले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

उक्त विज्ञप्तिअनुसार ‘बागी’ उम्मेदवार पौडेलका प्रस्ताव कृष्णलाल सापकोटा र मीना खरेल पनि पार्टीबाट स्वतः निष्काशित भएका छन्। ८४ वर्षीय सापकोटा पौडेलका प्रस्तावक र खरेल समर्थक हुन्।

sahid diwas