भरतपुरमा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी कार्यालय उद्घाटन

चितवन/आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले निर्वाचन कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नु भएको हो ।

उद्घाटनपछि बोल्दै मेयरकी उम्मेदवार दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताउनु भयो । उहाँले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताउनु भयो । उहाँले वडा तहमा आ–आफ्नै ढङ्गले उम्मेदवारी दर्ता भएकोले शुक्रबारसम्म त्यसलाई पनि टुंगो लगाउने प्रयास गरिने बताउनुभयो ।

उहाँले २०७४ मा कांग्रेससँगको गठबन्धनबाट बनेको नेतृत्वले भरतपुरमा बिकासको मोडल तयार भएको बताउनुभयो । उहाँले भरतपुरलाई आर्थिक बिकासको केन्द्र बनाउनका लागि पाँच दलिय गठबन्धन गरेर चुनावमा होमिएको बताउनुभयो।

उहाँले भरतपुरमा बिकासको जग खडा भएको भन्दै जनताको मत जितेर भरतपुरलाई देशकै नमूना शहर बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले भरतपुरलाई भ्रष्टचारमुक्त महानगर बनाउने बताउनु भयो।

केपी ओलीको प्रतिगमकारी प्रवृति परास्त गर्नका लागि यस पटक पनि भरतपुरमा पाँच दलिय गठबन्धन भएको उहाँको भनाइ थियो । संविधानको रक्षा र परिवर्तन विरोधीलाई परास्त गर्नका लागी गठबन्धन आवश्यक रहेको बताउनु भयो।