गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान

भैरहवा/आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान हुदैँ छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो ।
आज दिउँसो ३ बजे काठमाण्डौबाट नेपाल वायुसेवा निगमको ३३० एयरबस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने भएको हो ।

जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरु, पत्रकार लगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिनुभयो । जहाज २ घण्टापछि फेरि काठमाण्डौ फर्कनेछ । २ घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि उहाँले जानकारी दिनुभयो । काठमाण्डौबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियम अनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रवन्धक दाहालको भनाई छ ।

विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तिदेखि नियमित व्यावसायिक उडान हुनेछ। अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।