भतेरी जंगलमा टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते
चितवन/चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा टिपर, बस र कार आपसमा ठोक्किँदा बस र कारमा सवार २८ जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुवाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार घाइतेहरूमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।