आजदेखि मतपत्र ढुवानी

काठमाण्डौ/आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।

आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बाँकी जिल्लाको मतपत्र छाप्ने काम भइरहेको उहाँले बताउनुभयो । पालिका चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान छ ।
मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगले तयारी गरेको छ ।