स्थानीय निर्वाचन : भरतपुरको मेयरमा ३० जनाको उम्मेदवारी, मुख्य प्रतिस्पर्धामा गठबन्धन र एमाले

चितवन/भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यलयका अनुसार उपमेयरमा १३ जनाको मनोनयन दर्ता भएको हो।
आज सोमबार मेयरमा ५ दलिय गठबन्धनका तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदी, विवेकशील साझा पार्टीका प्रविन काफ्ले,लोकतान्त्रिक समाजवादी दलका गणेश गिरी, राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतम शर्मा,राष्ट्रिय नागरिक पार्टीका पूर्णबहादुर गुरुङ, सामाजिक एकता पार्टीका खेम प्रसाईं, जनमत पार्टीका संजयकुमार ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लक्ष्मण अधिकारी,नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका सुरेन्द्र परियारले उम्मेदवारी दर्ता गरे।
त्यस्तै मेयरमै बिप्लब नेतृत्वको नेकपाका दुर्गाप्रसाद शर्मा,काङ्ग्रेसका जगन्नाथ पौडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, उद्धव अर्याल, सुमन अधिकारी, योगलाल श्रेष्ठ, कुलराज कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

त्यस्तै हिजो (आइतबार) भरतपुरको मेयरमा नेकपा मालेका सूर्यप्रसाद रेग्मी, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र वस्ती, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरी, राष्ट्रिय मुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी भरतपुर–१ का यमकान्त शर्मा, भरतपुर–१ का रामकृष्ण ओझा र भरतपुर–८ का हरिश्चन्द्र घिमिरे, भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१६ का मोहित पाण्डेले समेत मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारीले उम्मेदवारी दर्ता गरे। नेकपा एमालेले राप्रपासँग तलमेल गरेर उपमेयर उठाएन। राप्रपाले हिमला गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ। विवेकशील साझा पार्टीले पुष्पा सापकोटालाई उपमेयरको उम्मेदवार बनाएको छ।
नेकपा मालेकी इन्दिरा शर्मा गौली,राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीकी मीना मगर, मंगोल नेसनल अर्गनाइजेसनकी सुस्मा तामाङ, राप्रपा नेपालकी कल्पना थापा र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीकी कौशिला खत्रीले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी रविचन्द्र अधिकारी, पवीत्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

महानगरमा हिजो आईतवार र आज सोमबार दुईदिनमा तीस जना उमेदवारले उम्मेद्बारी दिए पनि मुख्य प्रतिस्पर्धा भने गठबन्धनका उमेदवार र एमालेको बिचमा हुने आम बुज्ग्म्हाइ छ।