एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकियो, मङ्गलवारदेखि ढुवानी

काठमाण्डौं/आसन्न स्थानीय तहको निर्वाचनको लागि ८० प्रतिशत एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको छ । भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

आयोगमा आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ । आचारसंहिता विपरीत हुने गरी कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, आयोगले तोकेको साइजमा मात्रै अनुमति प्राप्त गाडीमा झण्डा राख्न, जुलुस, आमसभा, र्‍याली नगर्न आयोगले चेतावनी दिएको छ ।

यस्तै चुनावमा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुने गरी सम्बन्धित दलको चुनाव चिह्न, झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने आयोगले चेतावनी दिएको छ ।

यस्तै निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

आयोगले निर्वाचन पर्यवेक्षणका लागि कुल ६८ ओटा संस्थाले आयोगबाट अनुमति लिइसकेको जनाएको छ ।