आज सातौँ भूकम्प स्मृति दिवस
गोरखा/२०७२ साल वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको आज सातौँ स्मृति दिवस, विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो भूकम्पमा परेर झन्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । यस्तै, आठ लाखभन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झन्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।
भूकम्पले १४ जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गामा सबैभन्दा धेरै असर परेको थियो । अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो ।
भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भए पनि पुनर्निर्माणको काम अझै सकिएको छैन ।विशेषगरी विद्यालय भवन सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ ।
ऐतिहासिक महत्त्वका धरहरा, रानीपोखरी जस्ता सम्पदाको पुनर्निर्माण पनि भइसकेको छ । तर, कतिपय क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको सुरुसार पनि गरिएको छैन । अहिलेसम्म निजी आवास पुनर्निर्माणको काम ७७ दशमलव ५ प्रतिशत मात्र भएको छ ।
यस्तै, स्वास्थ्य संस्था भवन एक हजार एक सय ६५ वटा पुनर्निर्माण गर्नुपर्नेमा आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा सात सय ५१ वटा मात्र सकिएका छन् । त्यसैगरी, चार सय १५ वटा सरकारी भवनमा भूकम्पले क्षति पुर्याएकोमा तीन सय ८८ वटाको मात्रै काम सकिएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवम् विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना बढाउनु पर्ने बताउनुभएको छ ।