भरतपुर महानगरको मेयरमा ११ जनाले दिए उम्मेद्बारी मुख्य भिडन्त रेणु र बिजय
चितवन/स्थानीय तहको आसन्न निर्वाचनको निम्ति उम्मेद्बारी दिने पहिलो दिन आज चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा ११ जनाको उम्मेद्बारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरको मेयरमा मात्र आइतबार ११ जनाको उम्मेदवारी दर्ता भएको हो। महानगरकै उपमेयरमा पनि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेकपा मालेले पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीलाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनाएको छ। रेग्मीले आइतबार कार्यकर्तासहित भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन।
त्यस्तै, मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय मुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र वस्ती, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरीले उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी, स्वतन्त्र उमेदवारको रुपमा भरतपुर–१ का रामकृष्ण ओझा, भरतपुर–१ कै यमकान्त शर्मा,–८ का हरिश्चन्द्र घिमिरे, भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१६ का मोहित पाण्डेले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन।
त्यस्तै मालेले उपमेयरमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको छ। उपमेयरमा पनि न्यौपाने सहित ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूमा गरेर १५ जनाले वडा अध्यक्ष, १५ जनाले वडा सदस्य र ३ जनाले महिला वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।
एमालेका उमेदवार बिजय सुबेदिले भोलि ११ बजे र नेपाली काङ्ग्रेस माओवादी केन्द्र सहितको ५ दलिय गठवन्धनको तर्फबाट मेयरका साझा उमेदवार रेणु दाहालले १ बजे उम्मेद्बारी दर्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ।