चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने
भरतपुर/चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने भएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा भएको छ ।
भरतपुरबोहक अन्य पालिकामा भागबण्डा टुङ्गिए पनि उमेदवारको अझै टुङ्गो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुङ्गो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।
नेपाली कांग्रेसका उपसभापति राजीव न्यौपानेका अनुसार आज साँझसम्म गठबन्धनले उमेदवारको टुङ्गो लगाउने र भोलि १ बजे संयुक्तरुपमा मनोनयन दर्ता गरिने छ। भोलि १ बजे चौबीसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्तरुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।
भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।
कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकीकृत समाजवादी) ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।
त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।