स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता
काठमाडौं/आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।
निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताए । ‘निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन तयारीको सबै (काम) सम्पन्न गरेको छ’ उनले भने, ‘अब उम्मेद्वारी, मतदान, मतगणना र नतिजा प्रकाशनको कामतर्फ उन्मुख हुँदैछ ।’
उम्मेद्वारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका क्रममा झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनलाई अनुरोध गरिएको थपलियाले बताए । उनले भने, ‘मनोनयन दर्ताका क्रममा निस्कने जुलुसले असहज र झडपको स्थिति आउनु हुँदैन । त्यसका लागि स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि गर्नुपर्ने काम गर्नेछ ।’
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।