फर्मा एक्स्पो उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज चितवन आउदै

चितवन/नेपाल फर्मा एक्स्पो–२०२२ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउनुहुने भएको छ। नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।
संघका उपाध्यक्ष एवम् मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तथ भएको जानकारी दिनुभयो। राष्ट्रपति चितवन आउनुहुने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुने छ । संघका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनु भयो । एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहेन छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहनेछन् ।