गठबन्धनको भागबन्डामा कांग्रेसको हात माथि
काठमाडौं/सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन् ।
गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।
यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर उसको भागमा परेको छ । यसैगरी, जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ । सत्तारूढ गठबन्धनको आइतबारदेखि भागबन्डाको बैठक नेपालगन्ज उपमहानगरपालिकाको मेयरको भागबन्डा नमिल्दा मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।
बुधबार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगन्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउनेगरी सहमति जुटाएको हो । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबन्डा मिलेको हो ।
देशभरका ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको भागबन्डाको अवस्था हेर्दा गठबन्धनमा कांग्रेस बढी नाफामा देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व हात पारेको थियो । त्यसबखत ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख कंग्रेसले जितेको थियो ।
तर, अहिले कांग्रेसले गठबन्धनको भागबन्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद लिएको हो । यस्तै, २०७४ मा नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ ।
यसैगरी, सातवटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ । यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो । त्यसमा चारवटा थप गर्दै कांग्रेसले सातवटा महानगरको टिकट आफ्नो भागमा पारेको हो ।
२०७४ मा धरान, धनगढी र कलैया उपमहानगरपालिकाको मेयर पद कांग्रेसले जितेको थियो । हाल भने इटहरी, बुटवल, तुलसीपुर र नेपालगन्ज महानगरपालिकाको मेयर कांग्रेसले पाएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।