आजदेखि तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना, सतर्कता अपनाउन सुझाव
काठमाण्डौ/आजदेखि तीन दिनसम्म तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो। ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्छ । यस्तो बेला दिउँसो घरबाहिर ननिस्कने र खानपानमा पनि ध्यान दिनुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।
मौसमविद् प्रधानाङ्गका अनुसार आउँदो बिहीवार मौसम बद्ली हुने सम्भावना रहेकाले तापक्रम घट्ने अनुमान छ ।