भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौं/खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीको मोहन्याल गाउँपालिकाका पूर्व अध्यक्ष स्वर्गीय नवलसिंह रावतसहित १४ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावतसहित १४ जना पदाधिकारी र कर्मचारीले न्यू बडिमालिका निर्माण सेवा कम्पनीसँग मिलेर चवन्न लाख अठार हजार पाँचसय अठसट्ठी रुपैयाँ सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाएको छ । सरकारी सम्पत्तिको हानी नोक्सानी पुर्याएका कारण उनीहरुबाट उक्त रकम असुल गरी सोही रकम बराबर नै बिगो भराउन माग दावीसमेत दिइएको छ ।
अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्री कर संकलनसम्बन्धी ठेक्कामा सरकारी राजश्व र भ्याटवापत बुझाउनुपर्ने उक्त रकम मिलेमतोमै ठेकेदार कम्पनीलाई मिनाहा गरी हानी नोक्सानी पुर्याएको उल्लेख छ।

अख्तियारका अनुसार उक्त ठेक्कामा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमै सम्झौता गरी भ्रष्टाचार भएको उल्लेख छ । अनुसन्धानका क्रममा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष तथा हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगर, वडानम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय वडानम्बर १ का वडा अध्यक्ष नविन पुनमगर, वडानम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँ कार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतको मिलेमतोमा ५४ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।

ठेकेदारले बुझाउनुपर्ने सरकारी राजश्व र भ्याट वापतको रकम गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको तथा सो मूल्य बराबरको मूल्य अभिवृद्धि कर समेत गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपैयाँ नौ पैसा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।