नारायणगढकाे अति व्यस्त पुलचाेकमा मण्डी संचालन हुँदै

चितवन – भरतपुर महानगरपालिकाकाे एक वडा एक कृषि बजारकाे मान्यतालाई सहयाेग पुग्ने गरि नारायणगढ व्यस्त बजार पुलचाेकमा तरकारी मण्डी संचनलनमा आउने भएकाे छ । भरतपुर महानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने पुलचाेक मेनराेडसँगैकाे जग्गामा मण्डी संचालन हुन लागेकाे हाे ।

 नारायणगढ बजार क्षेत्रमा ठेला, साईकल वा ई-रिक्साकाे सहयाेगमा घुमेर तरकारी तथा फलफुल व्यापार गर्नेहरूकाे एक समुहले साे मण्डी संचालन गर्न लागेकाे पुलचाेक ताजा तरकारी, फलफुल तथा माछामासु खुद्रा बजारका अध्यक्ष भरत बहादुर आछामीले जानकारी दिए ।

साे मण्डीमा ताजा तरकारी, फलफुल र माछामासुकाे लागि स्टल बनाउने काम जारी रहेकाे अध्यक्ष आछामीले बताए । आछामीले भने -“भरतपुर महानगरपालिकाकाे वडा नं. १ मा हाल सम्म व्यवस्थित मण्डी थिएन्, वडा सँग सल्लाह लिएर हामीले व्यवस्थित मण्डी चलाउन लागेका हाैं ।” आफुहरूकाे याे मण्डीका कारण बजारकाे अस्तव्यस्त ठेला व्यापारमा केही मात्रामा भए पनि कमी आउने अध्यक्ष आछामीले विश्वास व्यक्त गरे ।

अनाैपचारिक रूपमा वैशाख १ गतेबाट तरकारी, फलफुल बेच्न सुरू गरे पनि संरचना बनाउने काम सम्पन्न नभएकाले र केही पछि औपचारिक रूपमै मण्डी संचालन गरिने संचालक समिति स्राेतले बताएकाे छ । पुलचाेकमा नै मण्डी संचालन हुन लागे पछि यस क्षेत्रका स्थानीय र व्यापारी पनि खुसि भएका छन् । अहिले सम्म टाढा पुगेर तरकारी तथा फलफुल किनेकाे बताउनेहरू आफ्नै ठाउँमा तरकारी मण्डी खुल्दा खुसी भएका हुन् । यस समितिले महेन्द्रकुमार अमात्यकाे जग्गा ५ वर्षको लागि भाडामा लिएर मण्डी संचालन गर्न लागेकाे हाे ।