छात्रालाई यौन दुर्व्यहा गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

खोटाङ/खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए । घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

शिक्षालयमा अध्ययनरत छात्रालाई पटक, पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए ।