भरतपुर महानगरको मेयर र उपमेयरमा कांग्रेसबाट १३/१३ जनाले गराए मनोनयन दर्ता

चितवन/चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस चितवनबाट १३/१३ ले नाम दर्ता गराएका छन् ।

दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज पहिलो दिनमा नै १३ जना नेताले मेयरमा र १३ जनाले उपमेयरमा नाम दर्ता गराएका हन्।
आज आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयनमा साँझसम्म १३ जनाले मेयर पदका लागि आकांक्षा देखाएका हुन् । भोलि सोमबार साँझसम्म यो संख्या बढेर २० जनासम्म पुग्नसक्ने अनुमान छ ।

मेयर पदमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठले मनोनयन दर्ता गराएको कांग्रेस भरतपुर महानगरका उपसभापति बुद्धिकान्त न्यौपानेले बताउनुभयोे।

यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ र राजिब न्यौपानेले मनोनयन दर्ता गराएको उपाध्यक्ष न्यौपानेले बताए ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंबाट फर्किए लगत्तै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरु भएको हो ।