भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने

चितवन/नेकपा एमालेका विजय सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन। चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले भरतपुर महानगरकमिटी स्रोतले जनाएको छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गर्ने भरतपुर महानगर कमिटीका एक पदाधिकारीले बताए ।

उनका अनुसार सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने तयारी छ । सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका १२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका छन् ।