प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाण्डौं/आजपनि न्यूनचापिय प्रणाली र स्थानीय वायुको प्रभावले विशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसले केहीदिनयता बढेको प्रदुषण थोरै भएपनि कम हुने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । भोलिदेखि भने मौसम सफा भएर गर्मी बढ्नेछ ।